काठमाडौँ । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा एक बालकसहित तीन प्रहरी घाइते भएका छन् । बालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले चलाएको गोली लागेर कबहीगोठका चन्देश्वर यादवका छोरा १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका हुन् । उनको टाउकोमा गोली लागेको र अहिले वीरगन्जस्थित नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झडपमा स्थानीयको ढ्ंगामुढा प्रहारबाट प्रहरी नायव निरीक्षकसहित तीन प्रहरी घाइते भएका छन् ।
स्थानीयको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षक वीरेन्द्र गिरी, एक जना हवल्दार र एक जना जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए।
भारतबाट लुकाईछिपाई ल्पयाएको आठ बोरा प्याजसहितका ४ वटा मोटरसाइकल सोमबार साँझ इलाका प्रहरी कार्यालय कबहीगोठले नियन्त्रणमा लिएको थियो । भारतले प्याज निर्यातमा रोक लगाएपछि लुकाइछिपाइ प्याज नेपाल भित्र्याइ महंगो मूल्यमा बिक्री भइरहेको थियो । प्रहरीले नियन्त्रणमा लिएको तस्करीको प्याज बुधबार बेलुकी कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा तस्कर र स्थानीयले प्रहरीमाथि आक्रमण गरेको थियो । प्रहरीमाथि आक्रमण गर्नथालेपछि दुबै पक्षबीच झडप भएको हो ।







