काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा हुने भएको छ । उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ ।
गत वर्ष असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई मुलुकबीच सहमति भएको थियो । सोही बमोजिम उचाइ घोषणाको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार अबको एक महिनाभित्रमा नै सगरमाथाको उचाइ घोषणा गर्ने गरी तयारी भइरहेको छ । उचाइ घोषणाको मितिबारे छलफल भइरहेको स्रोतले जानकारी दिएको छ
हालसम्म सगरमाथाको उचाइ ८,८४८ मिटर छ । २०७२ सालमा गएको भूकम्पलगायत अन्य कारणले समेत उचाइमा केही कमबेसी हुन सक्ने भएकाले सगरमाथाको पुनः मापन सुरु गरिएको हो ।
सन् १८५६/५७ मा तत्कालीन ब्रिटिस इन्डियाको ‘सर्वे अफ इन्डिया’ ले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेको थियो ।







