काठमाडौँ । कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर हुने संकेत देखिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्न लागेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार दुई जना मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी भइरहको छ । सामाजिक विकासमन्त्री दल रावल र उद्योग पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर चन्द्रबहादुर शाही, करबिर शाही र अमरथापालाई नयाँ मन्त्री बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।
यस्तै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सरकारबाट बाहिरिने संकेत गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ३२ महिने कार्यकालमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
उनले आइतबार बिहानै फेसबुकमा भनेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’







