काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’-वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।
मंगलबार कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी थिए ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । सोही प्रस्तावमाथिको छलफलपछि उनलाई अध्यक्षबाट हटाउने निर्णय भएको नेता भीम रावलले बताए ।
बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।







