काठमाडौँ । एकाबिहानै कार्यालय समयमै पासपोर्ट बनाउनका लागि नागरिकताको नामअनुसार अमृत राई, दीपिका राई, र विशाल राई राहदानी विभागमा पुगिसकेका थिए । कम्प्युटरमा नागरिकता भेरिफाई गर्दा विभागका कर्मचारीलाई शङ्का लाग्यो । सोधपुछका क्रममा राहदानी लिन आएकाहरू एकाएक गायब भए ।
यसपछि थप शङ्का उत्पन्न भयो र राहदानी विभागले उनीहरूको नागरिकता जारी गरेको जिल्ला प्रशासन कार्यालय झापा र गृह मन्त्रालयलाई पत्र लेख्यो । नागरिकता दिने निकाय इलाका प्रशासन कार्यालय गौरी गन्जलाई पनि विभागले पत्र लेख्यो । गृह मन्त्रालयले सिआइवीलाई छानबिनका लागि पत्राचार गर्यो । प्रशासन र प्रहरी दुवैतिरबाट छानबिन प्रक्रिया सुरु भयो । नागरिकतामा भएको परिचय र ठेगानाका आधारमा खोजी गर्दा उनीहरू त्यस ठाउँका नभएको फेला पर्यो ।
गाउँमा कुनै परिचय नै नभएको मान्छेले इलाका प्रशासनबाट कसरी नागरिकता लिए ? भन्ने बारेमा खोजीनिती किर्ते नागरिकता वितरण प्रकरणमा संलग्न भएको आरोपमा इलाका प्रशासन कार्यालय गौरीगञ्जका कार्यालय प्रमुख ३७ वर्षीय धनञ्जयकुमार साह, सोही कार्यालयका कार्यालय सहयोगी २४ वर्षीय आसिर आलम र गौरादह–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिनालाई पक्राउ गरिएको छ ।
साह, आलम र तिम्सिनालाई शनिवार पक्राउ गरी जिल्ला अदालतबाट नागरिकतासम्बन्धी कसुर मुद्दामा पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापा भन्छन्, ‘वितरण गरिएको नागरिकताको नागरिकतासम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जमा छैन ।’ प्रवक्ता थापा प्रष्ट्याउँछन्, ‘नागरिकतासम्बन्धी सफ्टवेयरको प्रयोग गरी नागरिकता किर्ते गरेको हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको हो ।’
सम्बन्धित समाचार : सफ्टवेयरको दुरुपयोग गरी कीर्ते नागरिकता, कर्मचारीसहित तीन पक्राउ
उनीहरुले किर्तेगरी साविक जुरोपानी–८, हाल गौरादह नगरपालिका–७ स्थायी ठेगाना देखाएर अमृत राईलाई ०४–०६–७७–००५९१ नम्बरको नागरिकता, दीपिका राईलाई ०४–०६–७७–००५९२ नम्बरको नागरिकता र विशाल राईलाई ०४–०६–७७–००५९३ नम्बरको नागरिकता वितरण गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सम्बन्धित समाचार : नागरिकता वितरणमा त्रुटि देखिएपछि इलाका प्रशासन प्रमुख पक्राउ
राहदानी विभागबाट फरार भएका तीन जना व्यक्तिहरू को हुन् भन्नेबारे अझै खुल्न नसकेको र छानबिन पछि बाहिर आउने अधिकारीले बताएका छन् । ‘तिनीहरू नागरिकतामा भएको ठेगानाका स्थानीयवासी हुँदै हैनन्, नागरिकता किर्ते गरेर जारी भएकामा शङ्का छैन । तर उनीहरू भारतीय हुन् या तिब्बती हुन् या त अन्य ठाउँका नेपाली नै हुन् त्यो अनुसन्धानले नै बताउनेछ ।’ एक उच्च अधिकारीले प्रशासनलाई भने ।
जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासन कार्यालयले फरार भएका किर्ते नागरिकता बनाएका तीन जना हालसम्म सम्पर्कमा नआएकाले अनुसन्धानपछिमात्रै उनीहरू को हुन् भन्नेबारे भन्न सकिने बताएको छ ।







