काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।
श्री फस्ट राइफल गण (शान्ति सेना) २८ औँ डफ्फालाई बदली गर्नका लागि श्री नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फाको पहिलो टोलीका २६७ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी गोविन्द भुजेलको नेतृत्वमा काठमाडौँबाट कङ्गोतर्फ प्रस्थान गरेका हुन् ।
उक्त मिसनमा तैनाथ डफ्फाको पहिलो टोलीका २५५ जना नेपाली शान्ति सैनिकहरू सेनानी डम्बरसिंह ठकुरीको नेतृत्वमा पुस ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपाली सेनाले विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा कार्यरत यूएन मिसनहरूमा शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउने आइरहेको छ ।







