काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डप्रति सङ्केत गर्दै मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिएको टिप्पणी गरेका छन्।
आइतबार मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्डतर्फ सङ्केत गर्दै यस्तो बताएका हुन्।
उनले भने, ‘दुई तिहाइका पार्टी फुटाए। फेरि अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो। मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो। तर, त्यसका बाबजुद हामीले देख्यौँ सरकार बनाएको भोलिपल्टबाट मैले हेरेँ चालमाल ठिक छैन। सरकार ढाल्न लागिरहेको छ । ‘हामीले मिहिनेतले झण्डै दुई तिहाइका स्थिति बनायौँ। हामीलाई अहिले हटाइयो जालझेल गरेर। आवश्यकता एकतिर थियो। तर, संसद्को अङ्कगणित गलत ढङ्गले प्रयोग गरेर हटाइयो। तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मूल ढोकाबाट फेरि सिंहदरबार फर्किन्छौँ भन्ने मैले हामीलाई हटाउने बेलामा भनिएको थियो ।’
अध्यक्ष ओलीले सरकार ढाल्ने खेल खेलेपछि आफूहरूले देशलाई समृद्ध नेपाल र सुखी नेपाल बनाउने सङ्कल्प गर्नैपर्ने बताए। अध्यक्ष ओलीले दुई तिहाइको पार्टी फुटाइएको बताए।







