काठमाडौँ । औषधि व्यवसायीहरूले औषधि उत्पादनका लागि सहुलियत दरमा ऋण प्रवाह गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल औषधि उत्पादक संघ (एप्पोन) द्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको ‘नेपाल फर्मा एक्स्पो-२०२६’ मा सहभागी भएका औषधि व्यवसायीहरूले सो माग गरेका हुन् ।
सरकारले नीतिगत रूपमा नै सहुलियत दरमा ऋण प्रवाह, कर छुटको व्यवस्था गर्न सके नेपालको औषधि उत्पादन गुणस्तरीय हुने र त्यसमा नेपाललाई छिट्टै आत्मनिर्भर बनाउन सकिने एप्पोनका मिडिया संयोजक शैलेस वैद्यले बताए ।
३ दिनसम्म सञ्चालनमा आएको सो एक्स्पो आज समापन हुँँदैछ । एक्स्पोमा स्वदेशी तथा विदेशी कम्पनीका औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ, उत्पादक र मेसिनको प्रदर्शन गरिएको थियो ।
एक्स्पोमा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको एप्पोनले जनाएको छ । सो एक्स्पोमा चिकित्सक, नर्स, औषधि उत्पादनकर्ता, विद्यार्थीलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।







