काठमाडौँ । गुल्मीको मदाने गाउँपालिकामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्।
मदाने गाउँपालिका-४ नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोटदहतर्फ जाँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँडिरहेका पाँच जना पैदल यात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकल चालक, पछाडि सवार एक जना र पाँच जना पैदल यात्री गरी कुल सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार मदाने गाउँपालिका–४ धारा पानी बस्ने अन्दाजी १७ वर्षीय खुमबहादुर सुनारले उक्त मोटरसाइकल चलाएका थिए।
दुर्घटनाका घाइतेहरूलाई तत्काल उपचारका लागि पुर्कोटदहस्थित स्थानीय मेडिकल लगिएको छ। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ भने घाइते चालकको पनि उपचार भइरहेको जनाएको छ।






