हुम्ला । हालै अविरल वर्षापछि बाढी, पहिरो र ढुंगा खस्दा मुख्य तथा ग्रामीण सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडक, कर्णाली करिडोर तथा जिल्लाका सात वटै गाउँपालिकाका ग्रामीण सडकमा क्षति पुगेपछि जिल्लाको सडक सञ्जाल प्रभावित भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार वर्षापछि सडकका विभिन्न स्थानमा पहिरोले ढुंगा खसेर सडक अवरुद्ध भएको तथा बाढीले कल्भर्टलगायत संरचना बगाएको छ । सदरमुकाममा विद्युत् अवरोध भएकाले क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए ।
कर्णाली करिडोरअन्तर्गत हुम्लाको कवाडीदेखि हिल्सासम्मका विभिन्न स्थानमा पहिरो खसेको र कतिपय ठाउँमा ठूला ढुंगा खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए । पहिरो र ढुंगा पन्छाएर कवाडी–गिउसी सडक खण्ड सञ्चालनमा ल्याइएको तथा निरन्तर काम भए माथिल्लो खण्ड पनि बुधवारसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए ।
वर्षाले जिल्लाका सात वटै गाउँपालिकाका वडा केन्द्र तथा गाउँ बस्ती जोड्ने ग्रामीण सडकमा क्षति पुगेको छ । ताँजाकोट गाउँपालिकाको केन्द्र जाने सडकका विभिन्न स्थानमा क्षति पुगेको छ भने अदानचुली गाउँपालिका केन्द्रदेखि वडा नं ५ र ६ जाने सडक अवरुद्ध हुँदा विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको वडा नं ५ का वडा सदस्य सिंह बोहोराले बताए।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँका अनुसार ग्रामीण सडकमा ७० भन्दा बढी स्थानमा पहिरो खसेको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन सबै गाउँपालिकासँग समन्वय भइरहेको उनले बताए।
अवरुद्ध सडक खुलाउन आइतबारदेखि जिल्ला प्रशासन कार्यालयमा कमान्ड पोस्टको बैठक नियमित रूपमा बसेर सम्बन्धित निकायसँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले बताए ।
सडक अवरुद्ध भएपछि असोज १० गतेका लागि तय गरिएको नेपाली काँग्रेसको प्रदेश अधिवेशन तीन दिनपछि असोज १३ गते मात्र सम्पन्न भएको थियो । अधिवेशनमा सहभागी हुन तल्लो क्षेत्रबाट सिमकोट पुगेका प्रतिनिधिलाई सडक अवरोधका कारण दुई दिनसम्म लागेको अदानचुली गाउँपालिका–१ का उब्जन थापाले बताए । उनका अनुसार ठाउँ ठाउँमा पहिरो र ढुंगा खसेपछि सवारीसाधन रोकिँदा कतिपय ठाउँमा पैदल हिँड्नुपरेको थियो ।
उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित नारा लेक र वडा नं ६ को लिमी जाने न्यालु लेकमा करिब साढे तीन फिट हिउँ जमेकाले ती सडकसमेत बन्द भएका छन् । हिउँ नपन्छाएसम्म सडक सञ्चालनमा ल्याउन कठिन हुने प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण मुख्य तथा ग्रामीण सडक एकै पटक अवरुद्ध भएपछि हुम्लामा खाद्यान्न, दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको आवागमन तथा अत्यावश्यक सेवासमेत प्रभावित भएको छ ।



