काठमाडौँ । निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिँदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् ।
ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् ।
ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसाल पराजित भएकी थिइन् । क्षेत्र नं। ३ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन पनि पराजित भएका थिए ।
यसैगरी ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका उम्मेदवार हरि दाहालले पनि हार व्यहोरेका थिए ।
उनीहरूको हारको नैतिक जिम्मेवारी लिँदै माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक कट्टेल र सचिव पुलामीले पार्टीको बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको बताइएको छ ।