काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले सप्ताहव्यापी ३१औँ विश्व आदिवासी दिवस मनाउने भएको छ ।
‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नारासहित दिवस मनाउन लागेको हो ।
अगष्ट ९ अर्थात् श्रावण २४ गतेदेखि श्रावण २८ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना हुने अध्यक्ष गेल्जे लामा शेर्पाले बताए । विश्वका आदिवासीहरूले विगत ३१ वर्ष देखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजातिहरूले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।
आदिवासी जनजातिहरूको जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्ने, आदिवासीहरूको मौलिक ज्ञान सिप र उनीहरूको थाकथलोको संरक्षण एवम् प्रवर्धन गर्ने, भूमि र प्राकृतिक श्रोतमाथिको अधिकार सुनिश्चित गर्ने तथा राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सम्मानजनक सहभागिता जनाउने मुद्दाहरुबहस पैरवी गर्ने महत्त्वपूर्ण अवसरका रूपमा यसलाई मनाउने लागिएको अध्यक्ष शेर्पाले बताए ।
३१औँ विश्व आदिवासी दिवस नेपालमा आदिवासी जनजातिहरूको उत्सवको रूपमा आयोजना हुने भएकोले नेपालका आदिवासी जनजातिहरूका पहिचान झल्किने सांस्कृतिक झाँकीहरू, नृत्यहरू, खानाका परिकारहरूको प्रदर्शन समेत हुने नेफिनका महासचिव दिवस राईले बताए ।
नेफिनले उत्सवको रूपमा मुख्य कार्यक्रम श्रावण २४ गते राष्ट्रिय सभा गृहमा मूल समारोहलाई नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नेछन् ।
उत्सवमा आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेसभुसासहित राजधानीको मध्यभाग भृकुटीमण्डप देखि र्याली हुनेछ ।
नेफिनले सांस्कृतिक झाँकी सहितको र्याली ११ बजे भृकुटीमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क भएर प्रदर्शनी मार्ग राष्ट्रिय सभागृहको सभा हलमा प्रवेश गरी मूल समारोहमा परिणत गर्ने तयारी गरेको छ ।
नेफिनले श्रावण १७ गते आदिवासी जनजाति अपांग महासंघको सम्मेलन, २० गते महिला महासंघको बहस कार्यक्रम, २२ गते आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, एफएओ र युनेस्कोको आदिवासीहरूको मातृभाषा र खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा उत्सव, २२ गते नै आदिवासी जनजाति आयोगले आदिवासी जनजाति र एआई बारे कार्यशाला, २३ गते गुरुङ राष्ट्रिय परिषद्को चियापान तथा शुभकामना आदानप्रदान गर्नेछ ।







