वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वेस्ट बैंकबारे चिन्ता नलिन आग्रह गरेका छन्। उनले आफूले इजरायललाई वेस्ट बैंकमा कुनै कारबाही गर्न नदिने बिहीबार स्पष्ट पारेका हुन्।
इजरायली संसद्ले वेस्ट बैंकका केही भागहरूमा इजरायली कानुन लागू गर्ने विधेयकलाई प्रारम्भिक स्वीकृति दिएपछि ट्रम्पको यो भनाइ आएको हो। ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भनेका छन्, ‘वेस्ट बैंकको चिन्ता नगर्नुस् । इजरायलले वेस्ट बैंकका साथ केही गर्दैन ।’
अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले ट्रम्पको अडानलाई समर्थन गर्दै राष्ट्रपति ट्रम्प वेस्ट बैंकलाई विलय गर्ने कदमको कडा विरोधी रहेको र यस्तो कार्य मूर्खतापूर्ण राजनीतिक स्टन्ट हुने बताए। उनले ट्रम्पको नीति सधैँ स्पष्ट रहेको उल्लेख गरे।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस्तो कदमले गाजा युद्ध अन्त्य गर्ने ट्रम्पको शान्ति योजनालाई गम्भीर असर पुर्याउन सक्ने चेतावनी दिएका छन्। उक्त शान्ति योजना हमास र इजरायलबिचको कमजोर युद्धविराममा आधारित छ।







