काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले ग्यासको अभावबाट नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न तत्काल इण्डक्सन चुल्हो वितरणको योजना ल्याउन सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले खाना पकाउने ग्यासका लागि सर्वसाधारण मध्यरातसम्म लाइनमा बस्नुपरेकोतर्फ समेत सरकारको ध्यानाकर्षण गराइन्। उनले एकातिर देशमा विद्युत खेर गइरहेको र अर्कोतिर खाना पकाउने ग्यासका लागि नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्था रहेको वैकल्पिक उर्जाको प्रयोगमार्फत समस्या हल गर्नुपर्ने बताइन्।
सांसद अधिकारीले ग्यास आपूर्तिमा पटक–पटक समस्या देखिएपनि विद्युत खपतसम्बन्धी नीतिले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित गरिरहेको हो कि भन्ने कुरामा समेत सरकार गम्भीर हुनुपर्ने बताइन् ।
उनले भनिन्,‘भान्सामा साँझ र बिहानको छाक टार्न धौधौ परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिण्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन् । आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो सरकार रु एकातिर देशमा बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ । यो भन्दा ठूलो बिडम्बना अरु के हुनसक्छ । यदि ग्यासको यो सास्तीबाट नागरिकलाई साच्चिकै राहत दिने हो भने अब ग्यासका लागि लाइन होइन इन्डक्सन चुल्हो बाँड्ने योजना सरकारले तत्काल ल्याओस् । ग्यासको आपूर्तिमा पटक पटक समस्या भइरहँदा पनि विद्युत खपतमा लगाइएका नीतिहरुले वैकल्पिक इन्धनको प्रयोगलाई कतै निरुत्साहित त बनाइरहेको छैन ?सरकार यसमा गम्भीर बनोस् ।’
उनले नागरिकले एलपी ग्यासको लागि अझै कति सास्ती भोग्नुपर्ने हो सरकार भन्दै प्रश्न समेत गरिन्।






