सधैँझैँ त्यो दिन पनि मालपोत कार्यालयको कोठा नम्बर ४ मा सेवाग्राहीहरूको ठूलो भिड थियो। फाँटवाला अधिकृत सुबोध अधिकारीको कलम कम्प्युटरको स्क्रिन र ढड्डामा निरन्तर चलिरहेको थियो। तर, उनको ध्यान काममा भन्दा बढी खल्ती र टेबुलमुनिको ‘चिया खर्च’ मा हुन्थ्यो। सुबोधका लागि फाइल अघि बढाउनु भनेको केवल एउटा सरकारी प्रक्रिया थिएन, त्यो त अतिरिक्त आम्दानीको बलियो माध्यम थियो। अख्तियारको डर, प्रहरीको फन्दा वा कानुनको डन्डाले उनलाई कहिल्यै छोएन। उनले सेटिङ मिलाउन र कानुनका छिद्रहरूबाट उम्किन राम्रोसँग सिकिसकेका थिए।
ठीक मध्याह्न १२ बजे, मैलो कमिज र च्यातिएको चप्पल लगाएका एक वृद्ध उनको टेबुलअगाडि उभिए। उनको हातमा एउटा पुरानो फाइल थियो।
“सर, यो नातिनीको कलेजको शुल्क तिर्नका लागि अलिकति जग्गा बेच्नुपर्ने थियो। सबै प्रक्रिया पुगेको छ, आजै पास गरिदिनुभए ठूलो गुन हुने थियो,” वृद्धले काँपेको स्वरमा अनुनय गरे।
सुबोधले फाइल सरसरती पल्टाए। प्रक्रिया सबै पुगेकै थियो। तर, सुबोधको पुरानो बानी कहाँ जान्थ्यो र? उनले फाइल बन्द गर्दै भने, “बुढाबा, यहाँ प्राविधिक कुराहरू धेरै मिल्न बाँकी छन्। धेरै समय लाग्छ। छिटो चाहिने भए अलिकति ‘खर्चपर्च’ को व्यवस्था गर्नुस्, आजै हुन्छ।”
वृद्धको अनुहार मलिन भयो। उनले आफ्नो खल्तीबाट एउटा मक्किएको रुमाल निकाले। त्यसमा केही सयका नोटहरू कसिलो गरी बाँधिएका थिए। “सर, मसँग यो तीन सय रुपैयाँबाहेक अरू एक पैसा पनि छैन। यो पनि गाउँबाट आउँदा गाडीभाडा बचेको पैसा हो। बरु यो नातिनीको भविष्यको सवाल छ, यो दस्तखत गरिदिनुस्,” वृद्धले आँसुले भरिएका आँखाले हेर्दै भने।
सुबोधलाई त्यो तीन सय रुपैयाँ देख्दा रिस उठ्यो। उनले झर्किँदै फाइल पन्छाए, “हुँदैन बा, कानुन र नियम सबैका लागि बराबर हुन्छ। प्रक्रिया पुगेपछि पालो आउँछ। आउनुस्, दुई दिनपछि।”
वृद्धले लामो सुस्केरा हाले। उनले सुबोधलाई गाली गरेनन्, न त कुनै प्रहरी वा प्रशासनको धाक नै दिए। उनले मात्र आफ्नो झोलाबाट एउटा पुरानो, च्यातिएको डायरी निकाले र त्यसको एउटा पाना च्यातेर टेबुलमा कलमले केही लेखे। त्यो पाना सुबोधको हातमा राखिदिँदै उनी मलिन अनुहार लिएर कोठाबाट बाहिरिए।
सुबोधले झसङ्ग भएर त्यो कागजको टुक्रा पल्टाए। त्यसमा नीलो मसीले भर्खरै लेखिएको थियो :
“बाबु सुबोध! सायद तिमीले मलाई चिनेनौ। म तिम्रो प्राथमिक विद्यालयका अवकाशप्राप्त शिक्षक हरिप्रसाद अधिकारी हुँ। तिमी सानो छँदा मैले तिमीलाई कालोपाटीमा ‘सदाचार र इमानदारिता नै मानिसको सबैभन्दा ठूलो धन हो’ भनेर सिकाएको थिएँ। आज तिम्रो नामपाटीमा तिम्रो नाम देख्दा मेरो छाती गर्वले फुलेको थियो। तर, तिम्रो यो टेबुलले मेरो त्यो जीवनभरको भोगाइ र सिकाइलाई पराजित गरिदियो। तिमीलाई सदाचारी बनाउन नसक्नुमा कानुन र पुलिसको होइन, मेरो नैतिकता र सिकाउने कलाको हार भएको रहेछ। तिमी खुसी रहनू बाबु, तिम्रो इमान ब्युँताउन म फेरि कुनै दिन आउनेछु।”
यो पत्र पढ्नासाथ सुबोधको शरीरमा एकाएक करेन्ट लागेझैँ भयो। उनलाई आफ्नो कुर्सी पग्लिएर पातालमा भासिएको जस्तो महसुस भयो। विगतका पुराना दिनहरू आँखाअगाडि घुम्न थाले, जहाँ यिनै गुरुले उनलाई नैतिक शिक्षा पढाउँथे, गरिब र असहायलाई सघाउन सिकाउँथे।
सुबोधले आफ्नो टेबुलको घर्रा हेरे, जहाँ घुसबापत लिएका हजारौँका नोटहरू थिए। ती नोटहरू आज उनलाई कागजका टुक्राहरू मात्र होइन, आफ्नै आत्मालाई डस्ने विषालु सर्पजस्ता लागे। उनलाई महसुस भयो—जसलाई आजसम्म अख्तियारको छापा र प्रहरीको हतकडीले डगमगाउन सकेको थिएन, आज गुरुको त्यो नैतिक झापडले उनको भित्री आत्मालाई ब्युँताइदिएको थियो। कानुनको डरले उनलाई लुक्न सिकायो, तर गुरुको नैतिकताले उनलाई बदलिन बाध्य बनायो।
सुबोध जुरुक्क उठे र फाइल हातमा लिएर बाहिरतिर दौडिए। मालपोत कार्यालयको मूल गेटमा वृद्ध गुरु लौरो टेक्दै हिँडिरहेका थिए। सुबोधले कुदेर गएर गुरुको गोडा समाते र भक्कानिएर रोए।
“गुरुबा, मलाई माफ गरिदिनुस्। मेरो कानुनको दण्डले मार्न नसकेको लोभ आज हजुरको आदर्शले मारेको छ,” सुबोधले आँसु पुछ्दै भने।
उनले गुरुलाई आदरपूर्वक कार्यकक्षमा फर्काएर ल्याए, आफैँले चिया खुवाए र एकैछिनमा फाइल सदर गरेर हातमा थमाइदिए। सुबोधले गुरुले दिएको त्यो तीन सय रुपैयाँको नोट र त्यो चिठीलाई सिसाको फ्रेममा हालेर आफ्नो कार्यकक्षको भित्तामा झुन्ड्याए, ताकि हरेक दिन कुर्सीमा बस्नुअघि उनलाई आफ्नो इमानको याद आओस्।
त्यस दिनदेखि सुबोध अधिकारी त्यो कार्यालयको सबैभन्दा इमानदार र सदाचारी कर्मचारी बने। उनलाई बदल्न न त कुनै कानुन संशोधन गर्नुपर्यो, न त कुनै प्रहरीले हतकडी नै लगाउनुपर्यो। उनलाई त केवल नैतिकता र सदाचारको त्यो एउटा ऐनाले बदलिदियो, जसले मानिसभित्रको मानवतालाई जगाउने गर्छ।
ज्ञवाली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका, देउखुरीमा वरिष्ठ शाखा अधिकृत पदमा कार्यरत छन् ।





