काठमाडौं । आगामी आर्थिक वर्षको बजेटलाई करिब ३ खर्ब स्रोत कमी हुने अर्थ मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षमा करिब १५ खर्ब रुपैयाँको बजेट ल्याउनुपर्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । तर, हालै बसेको स्रोत समितिको बैठकले सवा १२ खर्बको हाराहारीमा मात्रै स्रोत संकलन गर्न सकिने अनुमान गरेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको स्रोत चालू आर्थिक वर्षको बजेटभन्दा पनि कम हो । चालू आवमा १२ खर्ब ७८ अर्ब स्रोत जुट्ने भन्दै सोही आकारको बजेट सार्वजनिक गरिएको थियो ।
प्रारम्भिक रूपमा स्रोतको समीक्षा गर्दा आगामी बजेटअनुरूप कम नै हुने देखिएको अर्थसचिव शंकरप्रसाद अधिकारीले बताए । प्रदेशको विभाज्य कोषमा जाने राजस्वको हिस्साबाहेक करिब सवा १२ अर्बजति स्रोत जुट्ने प्रारम्भिक अनुमान गरिएको जानकारी उनले दिए ।
‘बजेटको स्रोतमा निश्चय पनि दबाब छ । यद्यपि, संघीय संरचनामा कुन–कुन निकाय रहने, कसरी रहने र कति कामहरू तल्ला तहमा जाने भन्ने कुराको यकिन भएपछि मात्रै संघीय बजेट कत्रो हुने टुंगो लाग्छ,’ उनले भने ।
केन्द्रमा कति निकाय रहने र कति तल जाने भन्ने विषयको टुंगो नलागेका कारण स्रोत समितिले मन्त्रालयहरूलाई बजेटको सीमासमेत दिन नसकेको उनले बताए । संघीय र तल्ला तहका कार्यालय र काममा दोहोरोपन आयो भने बजेटले धान्न नसक्ने भन्दै उनले पहिला त्यो विषय मिलाउनुपर्ने बताए ।
आगामी वर्ष केन्द्रीय बजेटका लागि यस वर्षभन्दा २ अर्ब रुपैयाँ मात्रै बढी अर्थात् ७ खर्ब ३२ अर्ब रुपैयाँ राजस्वबाट प्राप्त हुने अनुमान अर्थ मन्त्रालयको छ । सरकारले चालू आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ ।
अहिलेसम्म राजस्वको सबै हिस्सा केन्द्रले प्रयोग गर्दै आए पनि आगामी वर्षदेखि भने मूल्य अभिवृद्धि कर र आन्तरिक अन्तःशुल्कको १५ प्रतिशत प्रदेश र स्थानीय तहलाई बाँड्नुपर्नेछ । यसले केन्द्र सरकारलाई प्राप्त हुने राजस्व घट्नेछ ।
त्यस्तै, वैदेशिक अनुदानसमेत आगामी आर्थिक वर्ष यो वर्षको भन्दा कम हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ । यो वर्ष ७२ अर्ब वैदेशिक अनुदान प्राप्त हुने अनुमान सरकारको छ । त्यस्तै, वैदेशिक ऋणसमेत यो वर्षको तुलनामा करिब २० अर्ब मात्रै बढाउन सकिने स्रोत समितिले ठहर गरेको छ ।
वैदेशिक अनुदान र ऋणमध्ये अधिकांश परियोजनासँग जोडिएर आउने गर्छ । सरकारले यो वर्ष १ खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाउने योजना बनाएको छ । आगामी वर्ष यसमा पनि करिब २० प्रतिशत बढाउन सकिने अनुमान स्रोत समितिले गरेको छ ।
यही वर्ष नै सरकारलाई स्रोत जुटाउन गाह्रो परिरहेको सन्दर्भमा आगामी वर्षको बजेटलाई रकमको जोहो गर्नु चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयका वैदेशिक सहयोग महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले बताए । आन्तरिक ऋणलाई अलि बढी जोड दिन त सकिएला, तर त्यसले मात्रै बजेटलाई थेग्न गाह्रो छ, उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।







