काठमाडौं । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले योगलाई कर्मको क्रियाको रुपमा मात्र नहेरी सिद्धान्त र दर्शनको रुपमा पनि स्वीकार गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको ‘योग दर्शन, मानवीय जीवन शैली तथा स्वास्थ्य’ विषयक विचार गोष्ठीको उद्घाटन गर्दै जोशीले योग साधना कुनै मुलुकको सीमाभित्र सीमित रहन नसक्ने भएकाले भारतको बद्रीनाथ, केदारनाथदेखि नेपालको संस्कृतिसँग जोडिएको मुक्तिनाथ, रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ, गोरखनाथलगायत वृहत क्षेत्रका विषयमा चर्चा हुनु आवश्यक भएको बताए । उनले नेपालको तन्त्रयान र त्यससँग सम्बन्धित वृहत क्षेत्र पनि योगसँग जोडिएको उल्लेख गरे।
वरिष्ठ साहित्यकार वैरागी काँइलाले समस्त मानवजातिको कल्याणका लागि योग गर्नुपर्ने बताए । ‘विभिन्न कोणबाट हेरिने योगले व्यक्तिगत जीवनमा सकारात्मक असर पार्छ’, उनले भने । कार्यपत्र प्रस्तुत गर्दै डा हरिप्रसाद पोखरेलले योग बैदिक परम्परा, नाथ परम्परा, लोकायत परम्परामाथि चर्चा गरे ।
उनले बौद्ध तन्त्रमा क्रियातन्त्र, चर्यातन्त्र, योगतन्त्र र अनुत्तर योगतन्त्रजस्ता चार प्रधान शाखा रहेको उल्लेख गर्दै थेरवादमा पनि योगाभ्यासको महत्वपूर्ण स्थान रहेको बताए । प्रतिष्ठानका दर्शन विभाग प्रमुख जगतप्रसाद उपाध्यायको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।







