काठमाडौँ । हिरासत कक्षको ग्रिल काटी फरार अभियुक्तहरू रामेछाप, रामेछाप नगरपालिका–५ बस्ने २५ वर्षीय विकास उर्फ रुपेश भन्ने रुद्रलाल श्रेष्ठ र सोही ठाउँ बस्ने २५ वर्षीय शम्शेर माझीलाई काठमाडौँ बौद्ध जम्बुडाँडाबाट बुधवार साँझ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बुङमती, भैसेपाटी ललितपुरको हिरासत कक्षको शौचालयको झ्यालमा रहेको फलामको ग्रिल काटी सोमबार रातिको समयमा श्रेष्ठ र माझी फरार भएपश्चात् प्रहरीले खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
ललितपुर गोदावरी नगरपालिका–९ छम्पीस्थित केशव थापाको घरबाट गत वैशाख १५ गते साँझको समयमा विभिन्न धनमाल चोरी कार्यमा संलग्न रहेको र ललितपुर महानगरपालिका–१९ लगनखेलस्थित बसपार्कको स्पिड सर्भिस प्रालिबाट चाबी फोडी वैशाख २८ गते राती कार्यालयमा रहेको विभिन्न धनमाल चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा श्रेष्ठ र माझीलाई पक्राउ गरी चोरी, डाँका तथा लागूऔषध मुद्दामा आवश्यक अनुसन्धानको क्रममा उनीहरू हिरासतमा थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







