नोम्पेन्ह । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गरेका छन् ।
कम्बोडियाले आफ्नो दक्षिणपश्चिमी प्रान्त प्रेह सिनउकमा रहेको एक सैनिक बेस क्याम्प चिनियाँ सशस्त्र सैनिकलाई पनि प्रयोग गर्न दिनेगरी चीनसँग गोप्य सम्झौता गरेको भनी हालै अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा समाचार प्रकाशन भएको थियो ।
तर त्यो समाचारमा कुनै सत्यता नरहेको प्रधानमन्त्री हुन सेनले फ्रेस न्युज नामक एक समाचार समितिलाई दिको अन्तर्वार्तामा बताएका छन् ।
आफूले चीनसँग सैन्य विषयमा कुनै पनि सम्झौता नगरेको र सो समाचार भ्रामक र झूठो रहेको बताउँदै उनले भनेका छन् – यो एकदमै भ्रामक समाचार हो, कम्बोडियामा कुनै पनि विदेशी सैनिक क्याम्प रहने छैनन् र यो कम्बोडियाको संविधानमा नै बर्जित छ ।
उनले भने – त्यो समाचार कम्बोडियाको पूर्णतः विरोधमा छ, त्यस्तो कुनै सम्झौता हामीले गरेका छैनौँ । हामीलाई हाम्रो देशमा चिनियाँ सैनिकको उपस्थिति किन चाहियो ?
प्रधानमन्त्री हुन सेनको भनाई थियो– हामीले यसको कुनै आवश्यकता महसुस गरेका छैनौँ र यस विषयमा चीनका नेताहरुसँग पनि कुरा भएकै छैन । रासस/सिन्ह्वा







