पाल्पाको माथागढी गाउँपालिकाले स्थानीय जातको कुखुरा संरक्षण अभियान थालेको छ ।
बेझाड । बजारमा स्थानीय जातको कुखुराको माग बढ्दै गएपछि कृषकको आर्थिकस्तर उकास्न संरक्षण अभियान थालेको हो । आर्थिक वर्ष २०७६÷७७ मा गाउँपालिकाले स्थानीय कुखुरा संरक्षण अभियान कार्यक्रमअन्तर्गत रु चार लाख रकम विनियोजन गरेको छ । स्थानीय जातका कुखुरा पाल्न इच्छुक कृषकलाई कुखुराको चल्ला, दानापानी, औषधोपचार, खोर व्यवस्थापनमा सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।
आर्थिक ०७५÷७६ मा स्थानीय कुखुरा संरक्षण अभियानअन्तर्गत रु एक लाख ५० हजार रकम विनियोजन गरी २८ जना कृषकलाई सहयोग गरिएको थियो । प्रत्येक कृषकलाई ५० वटा कुखुराका चल्ला वितरण, निःशुल्क औषधोपचार र दानाको सहयोग गरिएको छ ।
स्थानीय जातको कुखुरा गाउँघरमा पछिल्लो समय व्यावसायिक रुपमा पाल्ने कृषक कमै रहेकाले संरक्षण गर्न र व्यवसायीकरण गरेर कृषकलाई आत्मनिर्भर बनाउन यो अभियान चलाएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए।
‘गाउँपालिकालाई स्थानीय जातका कुखुरा उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्ने, कुखुराबाट आयस्रोत बढाएर कृषकलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना छ’, उनले भने । स्थानीय कुखुरा संरक्षण अभियान कार्यक्रमले व्यावसायिक रुपमा अगाडि बढ्न सहयोग पुगेको माथागढी गाउँपालिका–७ बस्ने कृषक रामबहादुर लाम्काहाले बताए । गाउँपालिकाले उनलाई ५० वटा कुखुराको चल्ला दिएपछि अहिले व्यावसायिक तवरबाट कुखुरा पाल्न थालेका छन् ।
‘कुखुराको चल्ला, दानापानी, औषधोपचार घरमै सेवा पाइएको छ, बिक्रीका लागी सजिलो र बजारमा यसको मुल्य राम्रो रहेकाले कुखुरापालन व्यवसायलाई विस्तार गर्दै आर्थिक स्रोत बढाउने सोच छ’, उनले भने । यो कार्यक्रम गरीब, दलित, विपन्न परिवारका लागि आम्दानी गर्ने राम्रो माध्यम बन्ने उनले बताए । यहाँ मगर समुदायको बाक्लो बस्ती छ ।
स्थानीय जातलाई संरक्षण गर्न र व्यवसायीकरण गर्ने उद्देश्यले गाउँपालिकाले चलाएको स्थानीय जातका कुखुरा संरक्षण अभियान कार्यक्रमले कृषक उत्साहित भएका छन् । व्यापारी नै घरघरमा पुगेर स्थानीय जातका कुखुरा खरीद गर्ने गरेका छन् ।
महँगो मूल्य परे पनि व्यापारी तथा ग्राहकले खोजी खोजी खरीद गर्ने गर्छन् । बिक्रीका लागी बजार सहज भएपछि कृषकले स्थानीय जातका कुखुरा पालेर राम्रो लाभ लिन सक्नेछन् । गाउँपालिकाले पशुस्वास्थ्य प्राविधिक परिचालन गरेर गाउँगाउँमा हेरचाह र औषधोपचारका लागि खटाउने गरेको छ ।







