वीरेन्द्रनगर । कर्णाली प्रदेशका ७ जिल्ला वर्षेनी खाद्य संकट हुने गरेको छ । प्रदेशका १० जिल्लामध्ये ७ जिल्लामा स्थानीय उत्पादनले तीन महीनापनि खान नपुग्ने भएपछि वर्षेनी खाद्य संकटको समस्या हुने गरेको हो ।
दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु खाद्य असुरक्षाको जिल्लामा पर्छ। उक्त प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुर्खेत, रुकुम र सल्यान खाद्य सुरक्षाको जिल्लामा परेका छन्। कर्णालीमा वर्षेनी २५ हजार मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको उक्त मन्त्रालयले जनाएको छ।
यस प्रदेशमा तीन लाख ५२ हजार मेट्रिकटन खाद्यान्न आवश्यक पर्नेमा तीन लाख २६ हजार ५ सय मेट्रिकटन खाद्यान्न मात्र उत्पादन हुने गरेको छ।
खेतीयोग्य जमिन खण्डीकरण हुनु र जमिन बाँझै राख्नाका साथै सिँचाइको अभाव र उन्नत जातको बीउ अभावका कारण कर्णालीले वर्षेनी खाद्य संकटको समस्या झेल्नुपरेको हो। त्यसैगरी हिमाली जिल्लामा फलफूल र तथा जडीबुटी मात्र उत्पादन हुने भएकाले पनि यी जिल्लामा वर्षेनी बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने हुन्छ।
मन्त्रालयका प्रवक्ता हरि पण्डितले कृषि सडक तथा कृषि सिँचाइतर्फ आफ्नै प्राविधिक कर्मचारी नहुँदा समस्या भएको, विभिन्न आयोजना र उपआयोजनाको ‘डिजाइन स्टिमेट’ नहुँदा समस्या भएको बताए। भौगोलिक विकटता, स्रोत साधनको कमी, खाद्य तथा पोषणको असुरक्षालगायत चुनौती भएको उनको भनाइ थियो।







