मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित इच्छाकामना मन्दिर परिसरमा निर्माण भइरहेको आश्रमका लागि विभिन्न व्यक्तिबाट पाँच लाख ६२ हजार २०० सहयोग प्राप्त भएको छ । एक स्थानीयवासी इच्छाकामना–४ कुरिनटारका ध्रुवराज त्रिपाठीले रु पाँच लाखको चेक गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।
यसैबीच स्थानीय खोमप्रसाद त्रिपाठी र बिजुला त्रिपाठीले ५१ हजार १०१, पदमकुमारी सिलवालले पाँच हजार १०० र श्रीमाय अधिकारीले पाँच हजार सहयोग हस्तान्तरण गरेका छन् । बुधबार एक कार्यक्रमबीच उनीहरूले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
एक करोड लागतमा बन्ने उक्त भवन वृद्धाश्रम, सत्तल, पुस्तकालय सभाहललगायत सामाजिककार्यमा प्रयोग गरिने मन्दिर समितिका अध्यक्ष बुद्धिप्रसाद सिलवालले बताए । भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष चार लाख सहयोग गरेको बताए । साथै उनले अन्य रकम स्थानीयवासी विभिन्न उद्योगी/व्यवसायी तथा सामाजसेवीको सहयोगमा भवन निर्माण भइरहेको बताए ।
अहिलेसम्म रु १९ लाख खर्च भइसकेको र भवन निर्माण सम्पन्न गर्न रु एक करोड लाग्ने मन्दिर निर्माण समितिका अध्यक्ष शङ्कर सिलवालले बताए । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले भवन सम्पन्न गर्नका लागि गाउँपालिकाले यस आर्थिक वर्षमा रु ११ लाख रकम छुट्याइएको बताए ।







