विराटनगर । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको एकता र सद्भावलाई कसिलो बनाउन चाडपर्वले योगदान दिएको बताएका छन् । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मन्त्री कार्कीले यस प्रदेशमा कानून निर्माणमा उल्लेखनीय काम भएको प्रष्ट पारे ।
उनले निर्माण भएका कानूनबाट प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्दै प्रदेश सरकारले सहमति र सहकार्यको बाटो रोजेको बताए । मन्त्री कार्कीले विगतमा कानून, संरचना र कर्मचारीको अभावले गर्दा आशातित उपलब्धि हासिल गर्न नसकेपछि चालू आर्थिक वर्षमा सरकारले उल्लेखनीय प्रगति हासिल गर्ने उद्देश्यका साथ काम गरिरहेको धारणा राखे । ‘प्रदेश सरकारले संसद्को सर्वोच्चतालाई कायम गर्दै जनशक्ति र अनुभवको अभ्यासबाट प्रदेशलाई समुन्नत बनाउने सरकारको सङ्कल्प छ’, मन्त्री कार्कीले भने ।
नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सरकारले कानून निर्माण गरेसँगै अनुगमनको पाटोलाई विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गरे। उनले सरकारले आफ्नो हितमा मात्र नभएर सबैको हितमा काम गर्न सुझाव दिँदै नेपालीका महान् चाड दशैँका अवसरमा सबैलाई शुभकामना दिए ।
सङ्घीय समाजवादी फोरम नेपालका जयराम यादवले बजेट वितरण गर्ने प्रणालीमा सरकारले सुधार गर्नुपर्ने सुझाव दिँदै चाडपर्वका अवसरमा विराटनगर महानगरपालिकाको अवस्था नाजुक भएकाले सरकारको ध्यान जानुपर्ने कुरामा जोड दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्दिरा राईले प्रदेश सरकारले साना दललाई पनि सम्मान दिएकाले प्रदेश सरकारलाई धन्यवाद दिँदै बडा दशैँको शुभ अवसरमा सबैको सुख शान्तिको कामना गरे ।
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले सरकारको नारा मीठो र रसिलो भएअनुसार काम गर्नुपर्ने तर्क गरे । यसअघि प्रदेशसभा नियमावली २०७४ बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज सावाँ लिम्बूले वार्षिक प्रतिवेदन सदनमा पेश गरेका थिए ।







