काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङघ्घको ७४औँ महासभा बैठकमा सहभागी भई बुधबार राति स्वदेश फिर्ता भएका छन् ।
महासभा बैठकमा भाग लिने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलका नेता ज्ञवालीले जलवायु शिखर सम्मेलन, दिगो विकासका लक्ष्य, शिखर सम्मेलन, सबैका लागि स्वास्थ्य र विकासका लागि आर्थिक स्रोतको व्यवस्था विषयक बेग्लाबेग्लै बैठकमा भाग लिएका थिए ।
विश्वका १२३ भन्दा बढी राष्ट्र र सरकार प्रमुखहरु र अन्य देशबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत गरी १९२ देशबाट प्रतिनिधित्व भएको थियो ।
बैठकका क्रममा मन्त्री ज्ञवालीले विद्यमान अन्तरराष्ट्रिय व्यवस्था, जलवायु परिवर्तन, संयुक्त राष्ट्रसङ्घको सुधारमा द्वन्द्व तथा आतङ्कवाद जस्ता विषयमा विचार आदानप्रदान गरेका थिए ।
यसैबीच सञ्चारमन्त्रीकर्मीको जिज्ञासामा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) को अनौपचारिक मन्त्रिरिषद्को बैठकमा सबै आठ देशले सार्कलाई गति दिन प्रतिबद्ध रहेको बताएको जानकारी दिए।
चीनका राष्ट्रपतिले निकट भविष्यमा नेपालको भ्रमण गर्ने सम्भावना रहेको भए पनि मिति भने निर्धारण भई नसकेको उनले बताए । मन्त्री ज्ञवालीलाई विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गरेका थिए ।







