काठमाडौं । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ आज नेपाल आउँदै छन् । उनी आज अपरान्ह साढे तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने छन् ।
उनलाई त्रिभुवन विमानस्थलमा उच्च सम्मानका साथ स्वागत गरिनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीे र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा स्वागत गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन् र साढे ४ बजेपछि सोल्टी होटलमा नेपालका राष्ट्रपति भण्डारीसँग भेटवार्ता हुनेछ।
आइतबार बिहान साढे ७ बजेपछि सोल्टी होटलमै राष्ट्रपति सीले नेपालका उच्च नेताहरुसँग विभिन्न चरणमा भेटवार्ता गर्ने कार्यक्रम छ। साढे ८ बजे प्रधानमन्त्री ओली र सीबीच द्विपक्षीय छलफल हुनेछ। छलफल लगत्तै दुबै देशबीच सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई सूचना तथा प्रसारण विभागले ड्रेस कोड तोकेको छ। सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि टाइसहित सुट सेट र महिलाका लागि सुट सेट, सारी वा सभ्य कुर्ता तोकिएको छ।
चिनियाँ राष्ट्रपती सीसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत्, प्रसारण लाइनलगायत पूर्वाधारका दर्जन बढी एजेन्डामा छलफल हुनेछ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग पनि चीनको प्राथमिकतामा परेको छ।
आइतबार साढे ११ बजेपछि राष्ट्रपति सी बेइजिङका लागि चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम समय तालिकामा उल्लेख छ।







