राँझा । चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका अवसरमा जमुनाह–हिल्सा द्रुुतमार्ग निर्माणका लागि बाँकेका उद्योगी व्यवसायीले चासो देखाएका छन् । उक्त द्रुतमार्ग निर्माणका लागि पहिलो चरणको सम्भाव्यता अध्ययन गरिसकेकाले पनि यहाँका व्यवसायी यस विषयमा सम्झौता हुनेमा आशावादी भएका छन् ।
पश्चिमको विकासका लागि जमुनाहदेखि हिल्सासम्मको द्रुतमार्गको सम्झौता हुनुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष आदेश अग्रवाल बताउछन् ।
उक्त द्रुतमार्ग निर्माणसँगै नेपालगञ्जको भविष्यसमेत उज्ज्वल हुने उल्लेख गर्दै उनले भने, ‘वास्तवमा सरकारले पश्चिमलाई हेला नगरेको हो भने जमुनाह–हिल्सा द्रुतमार्गको सम्झौता गर्नुपर्दछ ।’कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका अवसरमा दुई मुलुकबीच हुने समझदारीमा यो द्रुतमार्गलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेकाले पनि यहाँका व्यवसायी सम्झौता हुनेमा बढी आशावादी भएका हुन् ।
होटल व्यवसायी महासङ्घका अध्यक्ष भीमलाल कँडेल उक्त द्रुतमार्ग निर्माणका लागि सम्झौता भए कर्णाली प्रदेशसँगै नेपालगञ्जको आर्थिक कारोवार बढ्ने बताउछन् । ‘अहिले नेपालगञ्जका कार्यालय प्रदेश राजधानी बुटवलमा सारिएकाले व्यावसायिकरुपमा नेपालगञ्ज सुनसानजस्तै भएको छ तर उक्त द्रुतमार्ग सञ्चालनमा आयो भने नेपालगञ्ज फेरि ब्युझिनेछ ।’
उक्त दुु्रतमार्गको प्रारम्भिक अध्ययन पूरा भइसकेको छ । चीनको सरकारी निर्माण कम्पनी चाइना रेल्वे इञ्जिनीयरिङ कम्पनी (सीआइइसी) को प्राविधिक टोलीले चार महीना लगाएर प्रारम्भिक अध्ययन गरेको थियो । सो दु्रतमार्ग निर्माण भए त्रिदेशीय सडक सञ्जाल जोडिनाका साथै भारत र चीनसँग पनि सडकमार्ग विस्तार हुनेछ ।रासस







