काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् ।
सांसद साहले सोमबार बिहान ११ः३० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा बिरामीलाई समस्या बढ्न थालेपछि आफू आक्रोशित भएर बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको स्वीकार गरेका छन्।
साहका अनुसार विरामी दिउँसो २ बजेसम्म चिकित्सक कहाँ पुगेर चेकजाँच गराउनुपर्ने थियो । विमानस्थलको विशिष्ट कक्षमा आइतबारदेखिकै जुठो प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएका कारण त्यहाँ बस्ने वातावरण नै नभएको पनि साहको भनाइ छ ।
विशिष्ट कक्षको अस्तव्यस्तताबारे पटक–पटक विमानस्थलका प्रमुखलाई टेलिफोन गरेर जानकारी गराउँदा समेत सफासुग्घर गर्न कुनै चासो नदेखएको उनले बताए ।
‘विमानस्थल परिसरमा गाइबस्तु चरिरहेका थिए । गाइवस्तुका कारण दुर्घटनाको जोखिम हुनेबारे विमानस्थलका प्रमुखलाई जानकारी पनि गराएँ, तर कुनै सुनुवाइ भएन,’ सांसद साहले भने, ‘एयरपोर्टको अस्तव्यस्तबारे टेलिफोन गरेर प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएँ । कसैले वास्ता गरेनन् । त्यही भएर पनि म आक्रोशमा आएको हुँ ।’
बुद्ध एयरको काउण्टर तोडफोड गरेको भन्दै सांसद साहलाई बुद्ध एयरको व्यवस्थापन पक्षले विमान चढाउन अस्वीकार गरेको थियो । तर पछि प्रमुख जिल्ला अधिकारीको पहलमा सांसद साहले काठमाडौँका लागि उड्न पाए ।
सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केही समयका लागि तनावग्रस्त बनेको थियो।







