डोल्पा । डोल्पामा एक गाउँ नजिकै भीषण आगलागी भएको छ । ठूलीभेरी नगरपालिका–६ मा पर्ने काँडाताली गाउँ नजिकै आगलागी हुँदा गाउँ आगलागीबाट जोगिएको छ ।
काँडाताली गाउँ नजिकै धुपीरुख भन्ने जङ्गलमा लागेको आगो सल्कँदै काँडाताली गाउँमा पस्नु केही मिनेट पहिला मात्रै स्थानीयले थाहा पाएका थिए ।
सिँगो गाउँमा आगो पस्न थालेपछि स्थानीयले एकअर्कोलाई बोलाएर आगो निभाउन सफल भएको स्थानीय मेरबहादुर बुढाले जानकारी दिए ।
सोमबार विहान ७ बजेतिर लागेको आगोले धुपीरुख भन्ने जङ्गल पूरै खरानी भएको छ ।
त्यसैगरी स्थानीयले हिउँदमा गाईवस्तुहरुको लागि संकलन गरेर रुखहरुमा राखेको हजारौँ भारी घाँस समेत जलेर नष्ट भएको स्थानीय मेर बहादुर बुढाले बताए ।
‘म खाना पकाउन लागेको थिए एक्कासी आगोको मुस्लो (ज्वाला) देखियो, म आत्तिए कराए गाँउका सबैलाई जानकारी दिए, बिहान भएकोले गाँउ जोगियो नत्र गाँउ नै खरानी हुने थियो’ बुढाले भने ।
नजिकैका थरगाउँ दुरगाउँ र काँडाताली समेतका तीन गाउँका मानिसहरु पानी, माटो गरेर आगो निभाउने काम गर्दा बल्ल बल्ल दिउँसो २ बजे मात्र आगो निभाउन सफल भएको बुढाले जानकारी दिए ।
कसले किन आगो लगायो भन्ने केही जानकारी नभए पनि विहान जङ्गलमा गएका मानिसले लगाएको हुनसक्ने अनुमान गरिएको छ ।
‘माथि गाँउ र तल घनाजङ्गलमा लागेको आगोले सिँगो काँडाताली गाउँ नै सखाप पार्छ की भन्ने डर थियो । तर गाउँलेको अथक प्रयासले नियन्त्रणमा आयो । मानवीय तथा पशुवस्तुको क्षति हुन पाएन’ थारगाउँका सुवर्ण बुढाले भने ।
आगलागीबाट थर गाउँ र काँडाताली गाउँको झण्डै ५ लाख भन्दा धेरै क्षति भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन भने घाँसपात र स्याउ ओखर लगायतका विरुवा समेत नष्ट भएको बताइएको छ ।







