बैतडी । जिल्लामा प्रथम चौमासिकमा प्रदेश सरकारका मातहत कार्यालयको विकास खर्चको स्थिति निराशाजनक रहेको छ । प्रथम चौमासिकमा प्रदेश सरकार मातहत रहेका कार्यालयले कूल विकास बजेटको ४.६७ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कूल पूँजीगत बजेट रु एक अर्ब ४० करोड ६६ लाख ६५ हजारमध्ये प्रथम चौमासिकमा छ करोड ५६ लाख ९८ हजार ९६८ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख सिद्धराज ओझाले जानकारी दिए । डिभिजन वन कार्यालयले ६४ लाख ५० हजारमध्ये एक लाख ३९ हजार मात्रै खर्च गर्न सकेको छ भने घरेलु तथा साना उद्योग कार्यालयले १४ लाख ६५ हजारमध्ये तीन लाख २६ हजार मात्रै खर्च गर्न सकेको छ ।
यसैगरी सुख्खा फलफूल विकास केन्द्रको एक करोड ३८ लाख ५० हजार पूँजीगत बजेटमध्ये सात लाख ७० हजार खर्च भएको छ । यसैगरी सिँचाइ विकास डिभिजन कार्यालयको १५ करोड ४० लाखमध्ये एक लाख ६१ हजार मात्रै खर्च भएको छ । यसैगरी पूर्वाधार विकास कार्यालयको ७७ करोड ८० लाखमध्ये चार करोड ३६ लाख मात्रै खर्च भएको छ ।
कृषि ज्ञान केन्द्रको ७४ लाख ५० हजारमध्ये एक लाख ९० हजार खर्च भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको ७७ लाख ९५ हजारमध्ये १० लाख ४३ हजार मात्रै खर्च भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयको १६ करोड १५ लाखमध्ये ५० लाख ३१ हजार मात्रै खर्च भएको छ । यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको २६ करोड ९४ लाखमध्ये एक करोड ४२ लाख मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयको १६ लाख ४३ हजारमध्ये कति पनि खर्च भएको छैन भने जिल्ला आयुर्वेदको पनि १० लाख बजेटमध्ये प्रथम चौमासिकमा कति पनि खर्च भएको छैन् । जिल्ला अस्पतालको ४० लाख ६० हजार बजेटमध्ये एक लाख ५८ हजार मात्रै खर्च भएको छ ।







