विराटनगर । एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँच सहित छको मृत्यु भएको हो ।
विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को१त ९३६४ नंको एम्बुलेन्सबाट मृतक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृत्यु भएको बताइएको छ ।
मृत्यु हुनेमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् । यस्तै एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि मृत्यु भएको छ । मृतक सबैको शव सुनसरीको इनरुवा अस्पतालमा राखिएको छ । ट्रक चालक परार रहेको र उसको खोजी भइरहेको बताइएको छ ।







