काठमाडौं । सर्वोच्च अदालतका नायब सुब्बा सुधीरकुमार खड्काविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगत आरोप–पत्र दायर गरेको हो ।
खड्काले देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनी २ लाख ५० हजार रुपैयाँ मागेका थिए । विशेष अदालत, काठमाडौंको कैफियत प्रतिवेदनका आधारमा शाही पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएका थिए ।
सर्वोच्चमा दर्ता निवेदनको विषयलाई लिएर मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धरौटीमा छुटाइदिने खड्काको आश्वसन थियो । आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार उनले माग गरिएको रकममा ५० हजार रुपैयाँ छुट गरिदिने भनिएको थियो।
खड्काले उजुरीकर्ताका दाजु विपक्षी भएको विचाराधीन मुद्दामा मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराउने भनेर पनि दुई पटक गरेर ९ हजार रुपैयाँ लिएका थिए ।
आरोपितखड्कालाई बिगो नौ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय गरी घुस रिसवत लिएको रकम नौ हजार सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुलउपर गरी जफत हुन मागदावी गरिएको हो ।







