डोटी । महिलाहरुलाई स्थाई बन्ध्याकरण गर्न प्रोत्साहन गर्ने हेतुले शिखर नगरपालिका डोटीले स्थायी बन्ध्याकरण गर्ने महिलाहरुलाई न्यानो कम्मल उपहार प्रदान गरेको छ ।
स्वास्थ्य कार्यालय डोटीले परिवार नियोजन डोटी शाखाको समन्वयमा मुडेगाउँमा संचालन गरेको एक दिने शिविरमा ९ जना स्थायी बन्धाकरण गर्ने महिलाहरुलाई कम्मल वितरण गरिएको शिखर नगरपालिका स्वास्थ्य इकाइ प्रमुख हरिष शाहले बताए ।
शिखर नगरपालिका वडा नं २ मुडेगाउ स्वास्थ्य चौकीमा राखिएको शिविरको शिखर नगरपालिकाकी उपप्रमुख धौली देबी रावले स्थाई बन्ध्याकरण गरेका महिलाहरुलाई न्यानो कम्मल ओडाएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरीरहेको बताउदै उप प्रमुख रावलले मंशिर १८ देखि २८ सम्म नगरपालिकाका सवै वडाहरुमा निशुल्क रुपमा स्वास्थ्य शिविरको आयोजना गरिने समेत बताईन् ।
शिविरमा नगरपालिकाले न्यानो कम्मल वितरणले गर्दा शिविरलाई थप प्रभावकारी बनाएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने शिविर जिल्लाका विभिन्न स्थानीय तहमा संचालन हुदैछ सबैले समन्वय, सहकार्य गर्न आवश्यक रहेका समेत बताए ।
महिला र पुरुषहरुका लागि आयोजित शिविरबाट ९ जना महिलाहरुले मात्र स्थायी बन्ध्याकरण गरेका हुन् । पुरुषको संख्या भने शुन्य रहेको छ । समग्रमा जिल्लामा संचालन हुने गरेको स्थाई बन्ध्याकरण शिविरमा पुरुषहरुको भन्दा महिलाहरुको बढी संख्या रहदै आएको छ ।













