भरतपुर । काठमाडौँ उपत्यकाबाहेकका जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा चितवन पर्छ । दुनिकजसो साना ठूला दुर्घटनाहरु भइरहेका हुन्छन् । तर त्यहीदुर्घटना न्यूनीहकरणका लागि सवारी साधनको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको संख्या भने जिल्लामा न्यून रहेको छ ।
चितवन जिल्लामा ३१ जना मात्रै ट्राफिक प्रहरीको दरबन्दी रहेको छ । काजमा आएकासहित ५५ ट्रफिकले जिल्लाको सबै ट्राफिक व्यवस्थापन हेर्नुपर्ने हुन्छ । पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्ग पनि चितवनमा पर्छन् । जहाँ हजारौँको संख्यामा दिनहुँ सावारी साधनको चाप हुने गर्छ । जिल्लाका अधिकांश भित्रि सडक कालोपत्र भएका कारण पनि यहाँ तीव्र गतिका कारण दुर्घटना हुने गरेको छ ।
बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको चापलाई व्यवस्थित गरी सडक दुर्घटनामा न्यूनीकरणका लागि थप ४० प्रहरी थप्न्पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्र गिरीको माग छ । ‘जनशक्ति कम नभए पनि सबै क्षेत्रमा सिसीटिभीको व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘यसले दुर्घटना न्यूनीकरण र दुर्घटना भइहाले पनि दोषीको पहिचान गर्न सहज हुन्छ ।’
सिसीटिभी नहँदा कतिपय दुर्घटनामा दोषी फरार हुने गरेका उनले बताए । गिरीले ट्राफिकको आफ्नै भवन नहुँदा र भाडाको पनि जीर्ण भवनका कारण कार्यालय सञ्चालनमा समेत समस्या हुने गरेको बताए । कार्यालयकै अभावमा स्वयम् ट्राफिकले नै सडकमा पाकिङ गर्नुपर्ने बाध्यता छ । जिल्लाका मुख्य सडकभन्दा भित्रि सडकमा झन् बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।
आर्थिक वर्ष २०७६ ७७ को साउन यता भित्रि सडकमा ४६ सडक दुर्घटना भएका छन् । त्यसमा परी २६ ले ज्यान गुमाएका छन् । भने ५९ घाइते भएका छन् । साँघुरो सडक, सवारी साधनको तीव्रगति, चालकको लापरवाहीका कारण दुर्घटना बढीरहेको गिरीले बताए । साउनयता पूर्व पश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि लोथरसम्म ३६ सडक दुर्घटनाबाट १४ ले ज्यान गुमाएका ५न् । भने १०१ घाइते भएका छन् ।
यस्तै नारायणगढ मुग्लिङ सडकखण्डमा ३४ सडक दुर्घटनाबाट १४ को मृत्यु भएको छ भने ८३ घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङदेखि मौवाखोलासम्म १८ सवारी दुर्घटनाबाट चारको मृत्यु र ३८ घाइते भएका छन् । भरतपुर रिङरोडमा यो आवमा मात्रै सातको मृत्यु भएको छ भने २० घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्ण क्षेत्रीका अनुसार मङ्सिरमा राजधानीबाहेकका प्रदेशका जिल्लामा चितवनमा सबैभन्दा धेरै दुर्घटना हुनपुग्यो ।
चितवनमा भएका ५६ दुर्घटनामा पाँच महिलासहित १९ ले ज्यान गुमाएका छन् भने २० गम्भीरसहित ५६ घाइते भएका छन् । एक महिनाको अवधिमा भएका दुर्घटनाले थप चुनौती थपिएको क्षेत्रीले बताए । जिल्लाका मुख्य सडकमा आवश्यक पर्ने पूर्वाधारको समेत अभाव रहेको ट्राफिक प्रहरीको भनाइ छ । ‘नो पार्किङ’, ‘नो स्टप’, ‘उछिन्न निषेध’ जस्ता ट्राफिक चिह्न, डिभाइडर, जेब्रा क्रसिङमा रङ मेटिएकाले र पुनः रङरोगन नहुँदा पनि सडक दुर्घटना बढेको प्रमुख गिरीले बताए।
यस्तै सडकका राजमार्गहरुमा रहेको खाल्डाखुल्डीले पनि दुर्घटना निम्तिरहेको उहाँको भनाइ छ । दुर्घटना नियन्त्रणका लागि लागि सबै सरोकार निकायले तत्कालै ध्यान दिनुपर्ने उनले बताए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनमा सडक दुर्घटना बढेको भन्दै यसको न्यूनीकरणका लागि विभिन्न रणनीतिक कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । उनले निकुञ्ज क्षेत्रमा सवारी साधनमा जनावर ठोक्किने र दुर्घटना हुने भएकाले टिकौली क्षेत्रमा रातिको समयमा टाइमकार्ड लागू गर्ने पूर्वतयारी रहेको जानकारी दिए ।







