काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले बालाजु आसपासका क्षेत्रबाट १२२ जना चिनियाँ नागरिकलाई आपराधिक गतिविधिमा संलग्न भएको आशङ्कामा पक्राउ गरेको छ । परिसरले केन्द्रीय अनुसन्धान ब्यूरोसँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो ।
एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलोपटक भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अशोक सिंहले बताए। प्रहरीलाई आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ । उनीहरु ‘एटिएम ह्याकिङ’ लगायतका आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र (भिसा) समेत नभएको पाइएको छ । उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। उनले भने, “सम्बन्धित व्यक्ति पक्राउ परेकाले हामी थप अनुसन्धान अघि बढाउनेछौँ ।”
प्रहरी निरीक्षकहरुको सरुवा
प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार ४४३ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।
सरुवा भएका प्रहरी अधिकृतहरुलाई पुस महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ ।
कार्यालयले राष्ट्रिय किताबखाना (प्रहरी) लाई अभिलेखमा आवश्यक व्यहोरा मिलाउन अनुरोध गरेको छ ।







