काठमाडौँ । टुँडिखेललाई जोगाउन भन्दै शुरु भएको अकुपाई टुँडिखेल अभियानमा प्रहरीले अवरोध गरेको छ। सार्वजनिक सम्पत्ति बचाउँ अभियानअन्तर्गत शनिबार खुलामञ्च सिंगार्ने कार्यक्रम रहेकोमा प्रहरीले अवरोध गरेको हो।
प्रहरीले रंगरोगन तथा कुनै पनि कार्यक्रम गर्न नदिने र गरेमा बल प्रयोग गर्ने चेतावनी दिएको अभियानकर्मीले बताएका छन्।
टुँडिखेलमा भएको अतिक्रमण रोक्न गत कात्तिकदेखि सुरु गरिएको अभियानअन्तर्गत शनिबार टुँडिखेलभित्र विभिन्न कलाकारहरूद्बारा रंगरोगन गर्ने कार्यक्रम रहेको थियो।
प्रहरीको अवरोधको अभियन्ताहरूले विरोध गरेका थिए । विरोधपछि प्रहरीले कार्यक्रमस्थलमा गरेको अवरोध हटाएको थियो।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले अभियान सुरु भएपछि यसलाई राजनीतिक स्टन्टको संज्ञा दिँदै अभियानको कुनै अर्थ नभएको र खुल्लामञ्च तीन महिनामा पूर्णतया खाली हुने बताउँदै आएका छन्।







