सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीको गरीबी घटाउन सहकारीको उल्लेख्य भूमिका रहेको बताएकी छन्। बौद्ध ग्रामीण बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेड सुर्खेतद्वारा शनिबार आयोजित १९औँ वार्षिक साधारणसभामा उनले सहकारी मुलुकको अर्थतन्त्रको बलियो आधार खम्बा भएको बताइन् ।
उनले भनिन्, ‘अहिले युवा तथा घरेलु बेरोजगारहरुको रोजगारीको माध्यम सहकारी बन्दै गएको छ । सहकारीहरुले कर्णालीको गरीबी घटाउन प्रशंसनीय काम गरेका छन् ।’ त्रिपन्न हजार शेयर सदस्य बनाएर बौद्ध ग्रामीण सहकारी सुर्खेतले यहाँका नागरिकको आर्थिक विकासमा ठूलो सहयोग पुर्याएको भन्दै सहकारीमन्त्री केसीले भनिन्, ‘कर्णाली सरकारले कृषि र लघुउद्यमको माध्यमबाट जनताको जीवन बदल्न चाहेको छ । बौद्ध सहकारीले लिएको ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारालाई सार्थक तुल्याउन सरकारले आवश्यक सहयोग गर्छ ।’
प्रदेश सरकारका प्रवक्तासमेत रहेकी मन्त्री केसीले कर्णाली सरकारले सहकारीको कानून बनाइसकेको र नियमावली बनाउने क्रममा अघि बढेको बताइन् । सहकारीहरुको व्यवस्थित गर्न बनेको उक्त कानून तथा नियमावलीले बौद्ध सहकारीलाई यहाँका १० जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य पूरा गर्ने विश्वास दिलाउँदै उनले सहकारीमा लाग्ने सबै शेयर सदस्य आर्थिक, सांस्कृतिक र सामाजिक हिसाबले सम्पन्न हुने जिकिर गरिन् ।
कार्यक्रममा पायनियर बहुउदेश्यीय सहकारी संस्था सुर्खेतका उपाध्यक्ष उपेन्द्रबहादुर खड्काले सहकारीका क्षेत्रमा कर्णाली सरकारलाई लगानी गर्न अनुरोध गरे । बौद्ध सहकारी संस्थाका अध्यक्ष पञ्चसिंह रोकायाले समाजका सबैलाई आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा अनुशासित बन्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।







