काठमाडौँ । अबदेखि घरधनीले भाडामा बस्नेको सम्पूर्ण जानकारी प्रहरीमा बुझाउनुपर्ने भएको छ । गृह मन्त्रालयले काठमाडौँका घर धनीलाई भाडामा बस्नेको सम्पूर्ण विवरणसहितको सूची अनिवार्य रुपमा प्रहरीमा बुझाउन निर्देशन दिएको हो ।
घर भाडामा लिई विभिन्न अवराधिक गतिविधि, लुटपाट, डकैती लगायतका गतिविधि गरिरहेको भेटेपछि मन्त्रालयले अपराधिक गतिविधि नियन्त्रण, शान्ति सुरक्षा र जनधनको सुरक्षाका लागि यस्तो निर्णय गरेको हो।
‘काठमाडौँ उपत्यकालगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति, संस्था र कार्यालयले घरभाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्ने ब्यक्ति–संस्था–कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण–जानकारी एवं छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्नुपर्नेछ’, गृहको निर्णयमा भनिएको छ। गृहले नयाँ निर्णयसँगै यसलाई कडाइका साथ लागू गर्ने जनाएको छ।







