भरतपुर । चितवनको माडी नगरपालिकाले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ किसानलाई पेन्सन दिने भएको छ । वडा नं ८ कान्तिपुरमा शुरु गरिएको सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पेन्सन पाउने भएका हुन् । सामूहिक खेतीमा आबद्ध भएका ज्येष्ठ नागरिकलाई वार्षिक रु पाँच हजारका दरले पेन्सन उपलब्ध गराइने नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए। माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थामार्फत सामूहिक खेती गरिएको छ ।
‘समाजवादको आधारशिला भनेको सामूहिक खेती हो’, उनले भने, ‘सामूहिक खेतीबिना देशमा समृद्धि सम्भव छैन ।’ माडीमा शुरु गरिएको सामूहिक खेती अन्यका लागि पनि उदाहरणीय रहेको जनाइएको छ ।
नगरपालिकाले कृषि र शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिँदै नगरप्रमुख ढकालले विशेषगरी सामूहिक उत्पादनलाई जोड दिएको बताए।
सूर्योदय सहकारीले सामूहिक खेती कृषक कल्याण कोषमा शुरुआतमा सस्थाले दुई लाख तथा नगरपालिकाले एकलाख जम्मा गर्न लागेको छ । कोषको रकमबाट आएको ब्याजले सामूहिक खेतीमा आबद्ध ७० वर्षमाथि उमेरका अशक्त किसानलाई वार्षिक एक हजारका दरले रकम उपलब्ध गराउने सहकारी संस्थाका प्रबन्धक शिवजी गायकले जानकारी दिए ।
संस्थाका प्रबन्धक गायकले २५ हजार, माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले १० हजार र आले कन्स्ट्रक्शन कम्पनी प्रालि माडीका सञ्चालक मोहनबहादुर आलेले १० हजार कोषमा जम्मा गर्नेसमेत घोषणा गरेका छन् । कान्तिपुरमा १०० बिघामा सामूहिक खेती गरिएको छ । किसानले एक बाली खेती भित्र्याइसकेका छन् ।







