काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक जिल्ला प्रशासन कार्यालयमा एक/एक हजार जरिवाना तिरेर थुनामुक्त भएका छन्।
चिनियाँ नागरिकको कुनै कसूर नभेटेको भन्दै अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
सरकारी वकिलको रायअनुसार चिनियाँ नागरिकले कसूर स्वीकारेकाले एक हजार रुपैयाँ जरिवाना गराउने आदेश दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । दाहालले दिएको आदेशमा भनिएको छ, ‘प्रतिवादीले आरोप सकारेको हुनाले थप बुझ्नु पर्ने देखिएन ।’
अभद्र व्यवहारसम्बन्धी कसूरमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।
जबकी नेपाल र चीनको संयुक्त अपरेशन भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले ७ पुसमा १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको प्रहरीको दाबी थियो ।







