डोटी । एल. आर. आई. एजुकेसन फाउन्डेसनले डोटीको शिखर नगरपालिका अन्तर्गत रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
शिखर नगरपालिकामा अन्तर्गत रहेका ३२ वटा आधारभूत र माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ४४ जना बालबालिकालाई शैक्षिक सामग्री झोला, टिसर्ट मोजा, क्याप, कापी कलम, ड्रेस सहयोग गरेको शिखर नगरपालिका शिक्षा इकाई शाखा प्रमुख उद्धव मल्लले बताए ।
सुदूरपश्चिमका दूर दराजमा रहेका आर्थिक स्थिति कमजोर भएका दलित विपन्न बालबालिकाहरूलाई शिक्षाको मूल धारमा ल्याउनुका साथै शिक्षा क्षेत्रमा सानो तिनो योगदान पुगोस् भन्ने हेतुले विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको एल. आर. आई. स्कुल काठमाडौँका प्रधानाध्यापक डा. देवदत्त जोशीले बताए । उनले भने ‘हाम्रो ध्येय ‘ब्याक टु कमिटी’हो । कमिनीटीमा फर्किएर केही गर्नुपर्छ भन्ने हो यस क्षेत्रको शिक्षाको उन्नयनको लागि यहाँ रहेका सामुदायिक विद्यालयहरू सँग समन्वय सहकार्य गर्न चाहन्छौ’ । विश्व बजारमा चाहेको शिक्षा, शिक्षण विधि, शैक्षिक गुणस्तर सुधारका लागि सरोकार बालालाई बुझाउने तरिका, स्कुलको शैक्षिक अवस्थाका बारेमा फिल्ड भ्रमण लगायतका विषयमा सामुदायिक विद्यालयहरूले रुचि गरे साझेदार, समन्वय र सहयोग गर्नुका साथै शैक्षिक भ्रमका लागि चाइना पठाउन सकिने समेत डा.जोशीले बताए । यो भन्दा पहिले देशका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत प्रअ, पत्रकारहरूलाई भ्रमणमा पठाएको समेत बताए ।
डोटी जिल्लाका शिक्षकहरूलाई सक्रिय बनाई शैक्षिक गुणस्तर सुधार गर्न आफूहरूको सहयोग सदैव रहने एल. आर. आई. स्कुलका फाउन्डर एवं त्रिचन्द्र क्याम्पस काठमाडौँकी प्राचार्य यसोधारा पन्तले बताइन् । शिखर नगरपालिका अन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत बालवालिकाहरुलार्ई वितरण गरिएको शैक्षिक सामग्री एल. आर. आई. स्कुलमा अध्ययनरत विद्यार्थीहरूले दिएको मायाको चिनो रहेको समेत बताइन् ।
नगरपालिकाको शैक्षिक गतिविधि बढाउनका साथै गुणस्तरमा सुधार ल्याउन आफूहरू लागिपरेको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । सरकारको ठुलो लगानी रहेको सरकारी स्कुलको शैक्षिक गुणस्तर सुधार गर्न यस्ता खाले कार्यक्रम आवश्यक रहेको समेत नगर प्रमुख जोशीले बताए । नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि एल. आर. आई. स्कुल सँग नियमित समन्वय सहकार्य र सहयोग गर्ने समेत नगर प्रमुख जोशीले बताए ।
शैक्षिक सामग्री सहयोगका साथै शिखर नगरपालिकाको आयोजनामा नगर भित्र रहेका सबै विद्यालयका प्राचार्य तथा शिक्षकहरूलाई क्षमता अभिवृद्धि सम्बन्धी ३ दिने गोष्ठी पनि सञ्चालन गरेको थियो । गोष्ठीको सहजीकरण एल आर आइ स्कुल काठमाडौँका प्रधानाध्यापक देवकान्त जोशी, त्रिचन्द्र क्याम्पस काठमाडौँकी प्राचार्य यसोधारा पन्त लगायतको टोलीले गरेको हो ।
३२ वर्ष देखि काठमाडौँको कलङ्कीमा सञ्चालनमा रहेको एल. आर. आई. स्कुल नेपालको एक चर्चित विद्यालय हो । तिन हजार भन्दा बढी विद्यार्थी रहेको सो स्कुल नेपालको नामिक विद्यालयको सुचीअन्तर्गत टप फाईप भित्र पर्ने गर्दछ । एल. आर. आई. एजुकेशले विगत देखि देशका विभिन्न स्थानमा रहेका बालबालिकाहरूलाई शैक्षिक सामग्री, लुगा कपडा वितरण गर्दै आइरहेको छ ।







