डोटी । डोटी जिल्लाको अपराध सम्बन्धी आँकडा हेर्दा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।
आर्थिक वर्ष ०७३/७४ मा १२ जनाले आत्महत्या गरेको देखिन्छ त्यस्तै गरी आर्थिक वर्ष ०७४/०७५मा १८जनाले र आर्थिक वर्ष ०७५/०७६ मा २९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्कले देखाएको छ । आत्म हत्या गर्नेमा चालु आ.व.को हाल सम्म ८जना रहेका छन् ।
प्रहरीका अनुसार जिल्लामा झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या बढी , विष सेवन गरेर तथा हाम फालेर आत्महत्या गर्नेहरूको सङ्ख्यामा पनि बर्सेनि वृद्धि भइरहेको छ ।
मानिस बढी महत्त्वाकाङ्क्षी बन्दै जानु, मानसिक तनाव, बहु विवाह, आत्मग्लानि र गरिबी लगायतका कारण बर्सेनि आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले बताए । उनले भने ‘आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै जानु जिल्लाको लागि राम्रो होइन आत्महत्या बढ्नुका कारण र न्यूनीकरण बारे सूक्ष्म रूपमा अध्ययन गर्दैछौ’ विभिन्न प्रविधिको विकाससँगै मानिसहरू एक्लै बस्ने, अभिभावक हरूको व्यस्तता, लागूपदार्थको सेवन, पढाइमा असफलता, पारिवारिक असहयोग, सामाजिक बहिस्करण जस्ता कारणले पनि मानिसले आत्महत्या गर्ने पाइएको निरीक्षक बोहराले बताए । जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्ने सके, बेरोजगारीलाई काम दिनसके, सचेतना वृद्धि गर्नुका साथै मनोबल बढ्ने खालका कार्यक्रम चलाउन सके आत्महत्या न्यूनीकरणमा सहयोग पुग्ने पनि निरीक्षक बोहराले बताए । प्रहरी निरीक्षक बोहराका अनुसार आत्महत्या गर्नेमा पुरुषहरूको भन्दा महिलाहरूको सङ्ख्या बढी रहेको छ ।
मानसिक समस्या, बेरोजगारी, व्यवसायमा असफल, घरझगडा, पारिवारिक बिछोड जस्ता कारणले गर्दा आत्महत्याका घटनाहरू बढ्दै गएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योति पाण्डेले बताइन् । उनले भनिन् ‘ आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या नै हो त्यसका आलावा अन्य दीर्घ रोगी हुनु, घरेलु हिंसा, बढ्दो प्रविधि सामाजिक सञ्जालसँगै आएको विकृति, माया प्रेममा धोका, पढाइमा असफल जस्ता कारणले पनि व्यक्ति आत्महत्याको तहमा पुग्ने गरेको छ ।’ मानसिक स्वास्थ्य समस्याका कारणले गर्दा थुप्रै अन्य समस्याहरू सृजना हुने भएकाले मानसिक समस्यालाई अति संवेदनशील समस्याको रूपमा लिनुपर्ने समेत डा. पाण्डेले बताइन् ।
कुनै पनि व्यक्ति शारीरिक रूपमा अस्वस्थ्य हुने बित्तिकै स्वास्थ्य संस्थामा उपचारको लागि जाने गरेको र मानसिक समस्याहुदाँ वास्ता नगर्ने प्रवृत्तिका कारण आत्महत्याका घटना बढ्दै गइरहेको उनको बुझाई छ ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७३/०७४ देखि चालु आ.व.को पुस महिना सम्ममा डोटीमा ६७ जनाले आत्महत्या गरेका छन् । अहिले पनि दुर्गम ग्रामीण क्षेत्रमा हुने आत्महत्याका घटनाहरू वा सहरमै पनि सम्भ्रान्त घरानामा हुने आत्महत्याका घटनाहरू प्रहरीको अभिलेखसम्म आउँदैनन् । प्रहरीलाई जानकारी गराए पोस्टमार्टम लगायतका कानुनी प्रक्रियाहरू पूरा गर्नुपर्ने झन्झटिलो र खर्चिलोमा लाग्नु भन्दा स्वाभाविक मृत्यु भन्दै अन्तिम संस्कार गर्ने चलनले कतिपय ग्रामीण क्षेत्रका घटनाहरू अभिलेखमा आउँदैनन् । यदि सबै घटनाको अभिलेखीकरण हुने हो भने यो सङ्ख्या अझ बढी हुने सम्भावना देखिन्छ ।







