जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा कुटाकुट र तोडफोड भएको छ । बैठकमा मेयर लालकिशोर साह र उपमेयर रिता झा मिश्रको एकल प्रणालीलाई विरोध गर्दा कुटाकुट र तोडफोड भएको हो ।
सोमबार बसेको बोर्ड बैठकमा उपमहानगरपालिकाका मेयर लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै कुटाकुट देखि माइन्यूट च्यात्ने कामसमेत भएको हो ।
नगरको नीति तथा कार्यक्रमको बोलाइएको बैठकमा मेयरले एकल शासन लादेको भन्दै अधिकांश वडाअध्यक्षहरुले विरोध जनाउँदा तनाव उत्पन्न भएको थियो । मेयरले बिना छलफल लिएको नीति तथा कार्यक्रममा जबरजस्ती हस्ताक्षर गराउन लागेको भन्दै वडाअध्यक्षहरु आक्रोशित भएका थिए ।
प्रमुख र उपप्रमुखको कार्य हैकमवादी शासन जस्तो भएको भन्दै जनकुर ७ का वडाअध्यक्ष जानकी राम शाहले माइन्युट समेत च्यातेको स्वीकारे । शाहले बैठका नगरप्रमुखले जबरजस्ती हस्ताक्षर गराउन लागेपछि माइन्युट च्यातिन पुगेको बताए ।
पालिकाको सभा सञ्चालन अघि नीति तथा कार्यक्रम बोर्ड बैठकबाट पारित गराउनुपर्ने प्रावधान अनुरुप कम्तीमा २४ घण्टा पहिले सूचना उपलब्ध गराउनुपर्ने भएपनि एकाएक बैठक बोलाएर मेयरको कालो कर्तुतमा आफुहरुलाई जोड्न खोजेपछि विवाद बढेको अर्का वडाध्यक्ष दिपेन्द्र साहले बताए।
उनले उपमहानगरपालिकाको बैठक सञ्चालन सम्बन्धि कार्यविधिको छलफलको विषय सम्बन्धी १२ नम्बर बुँदाको १ नम्बरमै जनप्रतिनिधिलाई कम्तिमा २४ घण्टा पहिले सूचना उपलब्ध गराउनुपर्ने कुरा उल्लेख रहेको तर आफूहरुले नीति तथा कार्यक्रम हेर्नै नपाई सीधा बोर्ड बैठकमा उपलब्ध गराइएपछि अस्विकार गरेको बताए ।
मंगलबार विहानैदेखि जनकपुर उपमहानगरको मुल गेटमा वडाअध्यक्षहरुले धर्ना दिइरहेका छन् ।
ंं







