काठमाडौं । सर्वोच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर आज रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसला चित्त नवुझेको भन्दै महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको हो ।
आजै महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने बताएको छ । सोही निर्णयका आधारमा बिहीबार नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालत जाने स्रोतले जनाएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वडीआईजी निरञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष सजाय कायम गरेको थियो । उक्त फैसलाका आधारमा कोइराला बिहीबार नै रिहा भएका छन् ।
सर्वोच्च अदालतको फैसला चित्त नबुझेमा पुनरावलोकनमा जाने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार महान्यायाधिवक्ताको कार्यालयले सजाय छुट दिने फैसला र कानुनी व्यवस्थामा चित्त नबुझेपछि पुनरावलोकनमा जाने निर्णय गरेको बताएको छ ।
कोइरालाले आफ्नी श्रीमतीको हत्यापछि शव सशस्त्र प्रहरी बलको बा८च ५४०८ नम्बरको गाडी प्रयोग गरेर मकवानपुरको पालुङ पुर्याएर जलाएका थिए । शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा ८ माघ ०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए ।







