काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सचिवालय बैठक बस्नु अगाडि दुई अध्यक्षबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको भेतवार्तमा पार्टीको आन्तरिक विवादमा छलफल हुने बताइएको छ ।
फरकफरक राजनीतिक प्रस्ताव सचिवालय बैठकमा ओली र प्रचण्डले पेश गरेपछि आरोप–प्रत्यारोपमा उत्रिएका उनीहरु कात्तिक २५ पछि पहिलोपटक वन–टु–वन छलफलमा जुटेका हुन् ।
२६ दिनपछि दुई अध्यक्ष अनौपचारिक छलफलमा बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
दुवै अध्यक्षबीच नेकपा सचिवालय बैठक बस्नुअघि भएको यो भेटलाई सकारात्मक रुपमा लिइएको छ । गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन ।
आजको सचिवालय बैठकमा ओली र प्रचण्डका दुवै प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । त्यसकै तयारीअनुसार दुवै अध्यक्षबीच भेटवार्ता भएको बालुवाटार निकट स्रोतले बताएको छ । ओलीलाई भेट्नुअघि प्रचण्डले खुमलटारस्थित निवासमा माधव नेपाललगायतका नेताहरुसँग पनि छलफल गरेका थिए ।
ओली निकटका नेताहरुले सहमतिको प्रयासमा प्रचण्डसँग निरन्तर भेटघाट र छलफल गर्दै आएका थिए । सहमतिमा ल्याउने प्रयासमा राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत ओली र प्रचण्डसँग अलग–अलग छलफल गरेकी थिइन् ।







