काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
शनिवार बिहान काठमाडौँको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उनले त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने,‘जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईँले आवाज उठाइदिनु पर्यो भन्छन् । जनताका ती जायज माग हुन्, सरकारले कोभिशिल्डको दोस्रो डोजबाट वञ्चित भएका सबैलाई त्यसको व्यवस्था गर्न ध्यान दिनु पर्दछ ।’
नेता सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप भनेको स्मरण गराउँदै उनले सोही अनुसारको काम गरेर देखाउनसमेत आग्रह गरे ।
‘प्रधानमन्त्रीज्यूले संसदमा समेत आफ्नो पहिलो प्राथमिकता पनि खोप हो, दोस्रो प्राथमिकता पनि खोप हो, तेस्रो प्राथमिकता पनि खोप हो भन्नु भएको छ । अव त्यही अनुसारको कदम चाल्नु पर्यो । कामबाटै उहाँले गर्नु भएको प्रतिबद्धता पूरा गरेर देखाउन पनि ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।







