काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो समय भिडभाडजन्य क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझैं बढ्ने बताएको छ । यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले बताए ।
पछिल्लो केही दिन यता काठमाडौँ उपत्यका लगायत जिल्लाहरुका कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको र अस्पतालका आइसियु तथा आकस्मिक कक्षहरुमा ििवरामीको चाप बड्दै गएका भन्दै सबैले स्वास्थ्य मापदण्ड पालना गरी संक्रमण नियन्त्रणमा जिम्मेवार हुनुपर्ने प्रजिअ पराजुलीले बताएका छन् ।
‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरो सूचित गरिन्छ’ प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।








