काभ्रेपलान्चोक । पाँच महिनापछि ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौतीमा एक महिना मकर मेला लाग्छ । हरेक बाह्र वर्षमा हुने ‘मकर मेला’को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवर्द्धनका कार्यक्रम थालिएको छ ।
नगरपालिकाले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतीर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो । हाल रोटरी क्लब अफ पनौतीले मेला प्रवर्द्धनार्थ मेलाको लोगोयुक्त मग सार्वजनिक गरेको छ भने मकर मेला–२०७८ र रोटरीको इन्टरनेशनल लोगो एकैसाथ प्रयोग गर्दै मेलाको प्रचार गर्ने जनाएको छ । मकर सङ्क्रान्तिबाट पनौतीमा सुरु हुने मेला आगामी माघ महिनाभर लाग्नेछ । मेलामा नेपालमा मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गरेका छन् । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो ।
त्रिवेणीघाटमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरपालिकाले थुप्रै योजना सञ्चालन भइरहेका छन् । उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठुलो पुण्य मिल्ने धार्मिक विश्वास छ । एक महिनासम्म लाग्ने उक्त मेलालाई थप व्यवस्थित बनाउन ढाँडाचौर–सूर्यविनायक–मानेदोभान तथा रानीकोट–सूर्यविनायक–जाकीडोल र पनौतीबाट बिपी राजमार्ग जोड्ने सडक पूर्णरूपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति भइरहेको नगरपालिकाले जनाएको छ ।
निर्माणाधीन पनौती–बाँसडोल, पनौती–खोपासी, पनौती–कुशादेवी, पनौती–बनेपा र पनौती–आशापुरी सडकलाई स्तरोन्नति (पक्की) गरी मेलाअघि नै सञ्चालनमा ल्याइने नगरप्रमुख भीम न्यौपानेले बताए । उनका अनुसार स्तरोन्नति भइरहेको बनेपा–पनौती सडकमा मेला अवधिभर ट्राफिक जाम कम गर्न निर्माणाधीन पनौती–बनेपा (पुण्डमाता करिडोर)ले पनि निकै राहत दिलाउनेछ ।
‘पनौती बजार जोड्ने विभिन्न सडकलाई मर्मत सम्भार एवं स्तरोन्नति गर्दा धर्मावलम्बीलाई सजिलो हुन्छ’, न्यौपानेले भने । मेला सम्पन्न गर्न एक दर्जन उपभोक्ता समिति गठन भइसकेका छन् । ती समितिले आगामी पुसको अन्त्यसम्ममा त्रिवेणीघाट मात्र नभई सिङ्गो पनौतीलाई ‘दुलही’ झैँ सिँगार्नुपर्ने जिम्मेवारी दिइएको छ । त्यसमध्ये पनौतीभित्रका मठमन्दिर तथा पाटीमा रङ रोगन तथा झल्लर–तोरणले झिलिमिली बनाइने मुख्य काम हो । साथै पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागत द्वार निर्माण गर्नुपर्नेछ । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटर र बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।
यीसहित भौतिक निर्माणका लागि गत आर्थिक वर्षमै नगरपालिकाले रु तीन करोडभन्दा बढी बजेट छुट्याएको छ । मेलालाई व्यवस्थित गर्न हाल श्रद्धालुलाई स्नानका लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दाय बायाँ पैदल मार्ग, विश्रामस्थललगायतका भौतिक संरचना द्रुतगतिमा अघि बढाइएको छ । नगरपालिकाले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, फुटपाथ मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिँगटीले छाउने, रथको आवश्यक मर्मत गरी तयारी अवस्थामा राख्ने, सडक बत्तीको पर्याप्त व्यवस्था गर्ने नगरपालिकाको योजनामा उल्लेख गरिएको छ । साथै पनौतीबाट चल्ने सबै प्रकारका सवारी साधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएका स्टिकर तथा फ्लेक्स टाँगिनेछ ।
नगरपालिकाको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चार ड्याम र सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइनेछ । मेला अवधिभर मल्पी ड्यामबाट नियमितरूपले रोशी खोला तथा मल्पी–लिलावती बाँसडोल खोलामा स्वच्छ पानी बहाइनेछ । यसका लागि मकर मेला सुरु हुनु एक हप्ता पहिले खानी तथा खानीजन्य उत्खनन, पैठारी बन्द गरिनेछ ।
सयौँ वर्षअघि पाटन र पनौतीमा ठुलो खडेरीपछि अनिकाल हुँदा दुवै ठाउँका तान्त्रिक फुल्चोकी माईकहाँ पूजापाठ गरी पानी माग्थे । दुई क्षेत्र बिच पानी लैजाने होडबाजी चलिरहेपछि फुल्चोकी माताले जसले पहिला चाँदी र सुनको फूल चढाउँछ उसलाई वरदान दिने किंवदन्ती छ । यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले सोहीका फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफूसँग जान्ने कालीगढ नभएको जनाउँदै तोरी र मुलाको फूल (सुन र चाँदीजस्तो देखिने) चढाएपछि सुन–चाँदीका निम्ति प्रख्यात पाटनलाई भन्दा मुला, तोरी र साग खेती गर्नेलाई पानीको अभाव छ भन्दै खुसी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाइदिएको विश्वास गरिन्छ ।
छ वर्षपछि सुन र चाँदीको फूल बनाएर फुल्चोकी मातालाई चढाएर आफूहरुलाई पनि वरदान मिल्नुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी थिइन् । यसपछि छ/छ वर्षको अन्तरमा गोदावरी मेला र १२/१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ । जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणीसँगमा हरेक वर्षको माघमा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याइए दुई दिनसम्म राखिने गरिन्छ ।
अर्को किंवदन्तीअनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बहिरहेको मान्यता छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ ।







