भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका– २ बोडेमा आज (शुक्रबार) जिब्रो छेड्ने जात्रा हुँदै छ ।
बिस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौँपटक जिब्रो छेडाउने भएका छन् ।
जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन् । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नुनसमेत नखाने गरिन्छ ।
व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ । जिब्रो छेड्ने पाँचौँ गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले जिब्रो छेड्ने व्यक्तिको जिब्रो छेडिदिन्छन् ।
एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इन्च लामो सुइरो जिब्रोमा छेड्ने गरिन्छ । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने गर्दछ । यसपछि उक्त परिवारमा भोज खाने प्रचलन छ ।







