काठमाडौँ । नेपाल जनप्रशासन सङ्घले प्रदान गर्ने हेम बहादुर मल्ल सम्मान, २०७६ सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । राज्यको उच्च ओहदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापन क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै उपाध्यायलाई सो सम्मान प्रदान गरिन लागेको हो । उपाध्यायले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा भ्रष्ट्राचार नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोसमेत सङ्घले जनाएको छ ।
पूर्व मन्त्री माधव पौडेलको संयोजकत्वमा सङ्घका अध्यक्ष कृष्णहरि वास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसन लि. का तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्व सचिव पुण्य प्रसाद न्यौपाने र पूर्व सचिव जीवन प्रभा लामा सदस्य रहेको सम्मान छनौट समितिले उपाध्यायलाई छनौट गरेको थियो ।
सङ्घले साल्ट टे«डिङ कर्पोरेसन लि. को नेतृत्व तहमा रही उत्कृष्ट एवं विशिष्ट योगदान पु¥याए बापत प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लको सम्झना तथा सम्मानमा हेम बहादुर मल्ल सम्मान स्थापना गरेको थियो । यो सम्मान वर्षेनी सार्वजनिक प्रशासन तथा व्यवस्थापका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत सम्मान पत्रसहित नगद दुई लाख प्रदान गर्दै आएको छ ।
यस पूर्व हेम बहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान् कोइराला, डा. विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत र डा. गौरीशङ्कर लाल दास सम्मानित भई सकेका छन् भने उपाध्याय सम्मान प्राप्त गर्ने सत्रौँ व्यक्ति हुन् ।
१९९५ सालमा निसिभुजी, वाग्लुृङमा जन्मिएका हेमबहादुर मल्लको २०५७ सालमा हृदयाघातबाट मृत्यु भएको थियो । साल्ट ट्रेडिग कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज, प्रमुख सल्लाहकार र प्रेसिडेन्ट जस्ता पदमा रहेर सेवा गरेका मल्ल नेसनल फाइनान्स कम्पनी लि।, सगरमाथा इन्स्योरेन्स कम्पनी लि।र सुवर्ण फर्मास्युटिकल्स लि।को अध्यक्ष भएका थिए ।
गोरखकाली रबर उद्योग लि., बुटवल धागो कारखाना लि., मोरङ सुगर मिल्स लि., नेपाल वनस्पति घ्यू उद्योग लि., खाद्य उद्योग लि. र हितकारी गुठीको सञ्चालकसमेत रहेका मल्ल नेपाल चेम्बर अफ कमर्स र नेपाल व्यवस्थापन सङ्घको कार्यकारी सदस्य समेत रहेका थिए । उनी गोरखा दक्षिणबाहु चौथो र शुभ राज्याभिषेक पदक बाट विभूषित भएको सङ्घले जनाएको छ ।
उक्त सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीबाट विशेष समारोह बिच आगामी २०७९ वैशाख ११ गते आइतबार प्रदान गरिने सङ्घले जनाएको छ ।
प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक बिचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याकंनमा पृष्ठपोषण गर्ने उद्देश्यले विक्रम सम्मत २०४७ सालमा नेपाल जनप्रशासन सङ्घको स्थापना भएको हो ।








