काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो बताएका हुन् । उनले आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको उल्लेख गरे ।
मेयर शाहले पहिला नेपालमा विदेशी पर्यटकहरू योग, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय भने खस्कँदै गएको बताए । आयुर्वेदको प्रवर्धनका लागि सरकारले धेरै काम गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘आयुर्वेदका लागि अझै धेरै गर्न बाँकी छ । यसलाई प्रवर्धन गर्दै जानुपर्छ । नेपालमा पहिला विदेशी पर्यटकहरू आयुर्वेदका लागि आउँथे, योगका लागि आउँथे । यसको प्रवर्धनका लागि आउँदा दिनमा अझै धेरै काम गर्नुपर्छ । आयुर्वेद देशलाई चिनाउन सक्ने चिज हो ।’
मेयर शाहले आयुर्वेदको प्रवर्धन र विस्तार गरी विदेशी पर्यटकहरू नेपाल भित्र्याउनुपर्ने बताए ।







